पोखरा स्कुल बस दुर्घटना: ५ जनाको मृत्यु, १७ घाइते। २०० मिटर तल खसेको बसबाट स्थानीयले सिटलाई स्ट्रेचर बनाएर उद्धार गरे।

shikharmedia.com

पोखरा | आश्विन २३, २०८३

शुक्रबार बिहानको सामान्य स्कुल यात्रा एक्कै झट्कामा त्रासदीमा बदलियो।

पोखरा–२८, ओख्लेमा बिहान करिब ६:३० बजे विद्यार्थी बोकेको स्कुल बस सडकबाट २०० मिटर तल भीरमा खस्यो। दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने १७ जना घाइते भए।

चालकले के भने?

बस चलाइरहेका ५७ वर्षीय तुलबहादुर गुरुङ खोल्सामा भेटिए। उद्धारमा पुगेका प्रकाश खड्कालाई देख्नासाथ उनले पहिले पानी मागे।

पछि के भएको थियो भनेर सोध्दा चालकले यस्तो जवाफ दिएको खड्काले सुनाए:

"मैले केही देखिनँ। एकैछिन अगाडि अँध्यारो भएजस्तो भयो।"

चालकले यसभन्दा बढी स्पष्ट बताउन सकेनन्। खड्काका अनुसार बस सिधा सडकबाट उकालो सुरु हुने ठाउँमा खसेको हो। चालकको ढाड र छातीमा चोट लागेको छ।

"ठूलो आवाज आयो, टिप्पर खस्यो कि भन्ने लाग्यो"

दुर्घटनास्थलनजिकै बस्ने खड्काले ठूलो आवाज सुनेपछि सुरुमा टिप्पर खसेको होला भन्ठाने। नजिकको पसलकी महिलाले यो स्कुल बस आउने समय हो भनेपछि उनीहरू दौडिए। खड्काले प्रधानाध्यापकलाई खबर गर्न लगाए र प्रहरीलाई फोन गरे।

उनी कालिका बोर्डिङका पूर्वशिक्षक हुन्, जहाँ उनले ६ वर्ष पढाएका थिए। घाइतेमा आफ्नै विद्यार्थी हुन सक्छन् भन्ने सोचले उनलाई झन् हल्लायो।

घटनास्थलको दृश्य

भीरभरि विद्यार्थी छरिएका थिए। कोही रुँदै, कोही पीडाले छटपटाउँदै, कोही हलचल गर्नसमेत नसक्ने अवस्थामा थिए।

सुरुमा खड्कासहित २–३ जना मात्र पुगेका थिए। बाटो अप्ठ्यारो र उद्धार सामग्री केही थिएन।

उनीहरूले बसका छुटेका सिट निकालेर "बेड" बनाए र घाइतेलाई त्यसैमा राखे।

केही बिद्यार्थीले आत्तिँदै सोधे, "सर, यो सपना हो कि विपना?"

स्थानीय र ट्याक्सी चालकहरू थपिँदै गए। प्रहरी पुग्नुअघि नै १०–१२ जना सामान्य घाइतेलाई बोकेर माथि पुर्‍याइसकिएको थियो।

प्रहरी २०–२५ मिनेटमा पुग्यो र उद्धार थप व्यवस्थित भयो।

तीन जना विद्यार्थीलाई प्रधानाध्यापकले स्कुलको भ्यानमा अस्पताल पठाए। उनीहरू बसबाट बाहिर फालिएको हुन सक्ने अनुमान छ।

ज्यान गुमाउनेहरू

सुभेच्छा तिवारी (कक्षा १०)

रुमिका नेपाली (कक्षा १०)

ममता तिवारी (कक्षा १०)

असिम कँडेल (कक्षा ८)

बाबुराम तिवारी (६५), माझठानाका बासिन्दा, बसमा लिफ्ट लिएर पोखरा झर्दै थिए

अहिलेको अवस्था

बसमा २२ जना सवार थिए, जसमध्ये १७ घाइते भए।

१२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनाको गण्डकी मेडिकल कलेजमा उपचार हुँदैछ।

पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ, जसले ५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।

प्रतिक्रिया