चितवन । नेपाली कांग्रेसको महाधिवेशनका लागि चितवन क्षेत्र नं. २ बाट विनोद ढकाल महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। युवा नेता ढकाललाई कर्मठ, लगनशील तथा ऊर्जावान युवा नेतृत्वका रूपमा प्रस्तुत गर्दै समर्थकहरूले आगामी दिनमा पार्टी संगठन तथा जनताको सेवामा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन्।
महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि ढकालले आफूलाई विश्वास गरी निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने पार्टीका अग्रज, प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्। उनले आफूलाई प्राप्त विश्वासलाई आगामी दिनमा जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ढकालले अग्रज तथा शुभेच्छुकहरूले दिएको अमूल्य मत र विश्वासलाई सधैँ सम्मान गर्दै पार्टी र जनताको हितमा इमानदारीपूर्वक समर्पित रहने बताएका छन्। उनले युवाको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई पार्टी संगठन तथा सामाजिक विकाससँग जोड्दै आगामी दिनमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त जिम्मेवारीसँगै ढकालको आगामी भूमिकालाई चितवनको राजनीतिक, सामाजिक तथा विकासका विषयसँग जोडेर हेरिएको छ। युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिँदै उनले संगठन सुदृढीकरण, जनताको अपेक्षा सम्बोधन तथा विकास निर्माणका क्षेत्रमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका छन्।