किड्स वर्ल्ड तीनदिने हस्तलेखन प्रशिक्षण सुरु

shikharmedia.com

भरतपुर भरतपुर-१२, मुनालचोकस्थित किड्स वर्ल्ड मन्टेश्वरीमा बालबालिकाको हस्तलेखन सुधारका लागि तीनदिने हस्तलेखन प्रशिक्षण कार्यशाला सुरु भएको छ।

बालबालिकाको लेखन सीपलाई सफा, स्पष्ट, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले आयोजना गरिएको कार्यशालाको औपचारिक उद्घाटन मन्टेश्वरीका सञ्चालक तथा प्राचार्य सावित्री सुवेदी खनाल, प्रवन्ध निर्देशक निरु सिग्देल खतिवडा, सह-प्राचार्य एलिना थापा र कार्यक्रम संयोजक बाग्मती श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।

कार्यशालामा प्रख्यात तथा अनुभवी हस्तलेखन प्रशिक्षक बिनोद सापकोटाले तीन दिनसम्म बालबालिकालाई प्रशिक्षण दिनेछन्। प्रशिक्षणमा बालबालिकाको उमेर तथा सिकाइ क्षमतालाई आधार बनाएर व्यावहारिक र प्रयोगात्मक विधिबाट हस्तलेखनसम्बन्धी सीप विकास गराइने आयोजकले जनाएको छ।

प्रशिक्षणका क्रममा अक्षरको आकार, अक्षर तथा शब्दबीचको दूरी, रेखाको प्रयोग, लेखनको गति, अक्षरको स्पष्टता तथा कापीमा लेखाइ प्रस्तुत गर्ने तरिकालगायतका विषयमा अभ्यास गराइनेछ। बालबालिकाको लेखनमा देखिएका कमजोरी पहिचान गरी सुधारका लागि आवश्यक अभ्याससमेत गराइने बताइएको छ।

विद्यालयका अनुसार प्रारम्भिक तहमा विकास हुने लेखन सीपले बालबालिकाको अध्ययन तथा सिकाइ प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ। लेखाइलाई व्यवस्थित बनाउन नियमित अभ्यास, एकाग्रता र अनुशासन आवश्यक पर्ने भएकाले विद्यालयले पठनपाठनसँगै अतिरिक्त सीप विकासका कार्यक्रमलाई पनि प्राथमिकता दिएको हो।

मन्टेश्वरीले बालबालिकाको शैक्षिक विकाससँगै सिर्जनशीलता, व्यवहारिक सीप र आत्मविश्वास अभिवृद्धिका लागि विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। हस्तलेखन प्रशिक्षणलाई पनि सोही शैक्षिक गतिविधिको एक हिस्साका रूपमा लिइएको विद्यालयको भनाइ छ।

कार्यशालामा सहभागी बालबालिकालाई प्रशिक्षक सापकोटाले हस्तलेखनका आधारभूत पक्षदेखि व्यवस्थित तथा स्पष्ट लेखनका लागि आवश्यक अभ्यास गराउनेछन्। प्रशिक्षण अवधिभर बालबालिकाको लेखन शैलीको अवलोकन तथा मूल्याङ्कन गरी आवश्यक सुधारका विषयमा समेत ध्यान दिइने जनाइएको छ।

विद्यालयले बालबालिकाको हस्तलेखनप्रति अभिभावकको चासोलाई समेत ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको जनाएको छ। विद्यालयका अनुसार प्रशिक्षणपछि बालबालिकाको लेखनमा देखिने सुधारलाई नियमित अभ्यासमार्फत निरन्तरता दिने लक्ष्य राखिएको छ।

बालबालिकाको व्यक्तित्व विकासमा लेखन सीपको पनि भूमिका रहने भएकाले विद्यालयले यस्ता गतिविधिलाई नियमित शैक्षिक अभ्याससँग जोड्ने तयारी गरेको जनाएको छ। प्राचार्य सावित्री सुवेदी खनालले सुन्दर, स्पष्ट र व्यवस्थित लेखनको विकाससँगै बालबालिकामा आत्मविश्वास, एकाग्रता र अनुशासनको बानी विकास गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो।

प्रतिक्रिया