अक्टोबर १४, एडिलेट दक्षिण अस्ट्रेलिया। नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेस, दक्षिण अस्ट्रेलियाले संस्थाको सांगठनिक संरचनालाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न पदमा नयाँ पदाधिकारी तथा सदस्यहरू मनोनयन गरेको छ।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार सञ्जीव अधिकारी र रेशमराज पौडेल उपाध्यक्षमा मनोनीत भएका छन्। त्यसैगरी लोचन आचार्यलाई सचिव, जयश्वर सापकोटालाई सहसचिव तथा इरादा धमलालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ। साथै
नव मनोनीत अन्य सदस्यहरूमा समीर तिवारी, विपना बर्तौला, अनिल सापकोटा, सुशान्त लामिछाने, लानी तामाङ, अस्मिता चौधरी र मन्दिप विश्वकर्मा रहेका छन्।
नेपाली कांग्रेससँग आबद्ध नेपाली जनसम्पर्क समिति, दक्षिण अस्ट्रेलियाले संस्थाका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने, सांगठनिक एकतालाई मजबुत बनाउने तथा दक्षिण अस्ट्रेलियामा रहेका नेपाली समुदायको हित र सेवामा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्यसहित नयाँ जिम्मेवारी प्रदान गरेको जनाएको छ।
समितिले नवमनोनीत पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै उनीहरूको अनुभव, सक्रिय सहभागिता, नेतृत्व क्षमता र संस्थाप्रतिको प्रतिबद्धताले संगठनलाई थप सशक्त बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
सूचनामा आगामी दिनमा आपसी सहकार्य, एकता र सामूहिक प्रयासमार्फत संस्थाको गरिमा अभिवृद्धि गर्दै दक्षिण अस्ट्रेलियामा रहेका नेपाली समुदायको हितमा निरन्तर क्रियाशील रहने अपेक्षा गरिएको छ।
समितिका अध्यक्ष भीमप्रसाद न्यौपानेद्वारा जारी सूचनामा नवमनोनीत सबै पदाधिकारी तथा सदस्यहरूको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।