काठमाडौं, अक्टोबर २९। दसैँको उल्लासपूर्ण माहोलबाट नेपाली समाज तिहारको रौनकतर्फ अघि बढिरहेका बेला नेपाली क्रिकेटमा पनि उत्साह थपिएको छ। नेपाली क्रिकेटको व्यावसायिक विकास, खेल पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान स्थापित गर्ने लक्ष्यसहित नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगिताले क्रिकेटप्रेमीमाझ उत्साह बढाउनुका साथै नेपाली खेलकुद क्षेत्रमा नयाँ सम्भावनासमेत उजागर गरेको छ।
प्रतियोगितामा विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन्। सन्तुलित टोली संरचना, अनुभवी खेलाडी र युवा प्रतिभाको समिश्रणका कारण उपाधि दौड रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। लिग चरणका खेलसँगै टोलीहरूको प्रदर्शन, अंकतालिकामा स्थान र प्लेअफमा पुग्ने प्रतिस्पर्धाले प्रतियोगितालाई थप आकर्षक बनाउनेछ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आकर्षक पुरस्कार राशिले नेपाली क्रिकेटमा व्यावसायिक प्रतिस्पर्धा र खेलाडीको मनोबल अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताले खेलकुदसँगै आर्थिक गतिविधिलाई पनि गति दिने अनुमान गरिएको छ। प्रायोजन, टिकट बिक्री, प्रसारण अधिकार, विज्ञापन तथा अन्य व्यावसायिक गतिविधिबाट ठूलो आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। प्रतियोगितासँग सम्बन्धित आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ। यसले नेपाली क्रिकेटमा निजी क्षेत्रको लगानी, रोजगारी सिर्जना र खेलकुदको व्यावसायीकरणलाई प्रोत्साहन गर्न सक्नेछ।
समाचार तयार पार्दासम्म प्रतियोगिताका चार खेल सम्पन्न भएका छन्। कार्तिक ९ गते भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। कार्तिक १० गते चितवन राइनोजले विराटनगर किङ्ग्सलाई आठ रनले हराएको थियो। सोही दिन भएको अर्को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको जित निकालेको थियो। कार्तिक ११ गते भएको चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको छ।
कार्तिक १२ गते पाँचौँ खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज दिउँसो १२ः३० बजे आमनेसामने हुँदैछन्। त्यस्तै, छैटौँ खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।
नेपाली क्रिकेटको लोकप्रियता विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न एनपिएलले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आठवटै टोली उपाधिका लागि प्रतिस्पर्धामा रहेकाले यस संस्करणको उपाधि कसले जित्नेछ भन्ने अनुमान गर्न अहिले नै कठिन देखिन्छ।