प्रारम्भिक बाल विकास र सिकाइका प्रमुख आयामहरू: -लेखक: सावित्री सुवेदी खनाल

shikharmedia.com

राष्ट्रको भविष्य संसद्, सिंहदरबार वा ठूला विकास आयोजनामा मात्र निर्माण हुँदैन; त्यसको वास्तविक आधार कक्षाकोठामा तयार हुन्छ। आजका बालबालिका नै भोलिका नागरिक हुन्। त्यसैले प्रारम्भिक बाल विकास र सिकाइ राष्ट्र निर्माणको मेरुदण्ड हो।

प्री-स्कुल तथा मन्टेश्वरी शिक्षा अक्षर र अंक चिनाउने परम्परागत अभ्यासमा सीमित रहनु हुँदैन। बालबालिकाको बाल मनोविज्ञान, जिज्ञासा, क्षमता र विशिष्ट रुचिलाई केन्द्रमा राखेर शिक्षा दिने खालको हुनुपर्छ। प्रत्येक बालबालिकाहरु  फरक फरक प्रकृति र स्वभावका  हुन्छन्; त्यसैले एउटै विधिले सबैलाई सिकाउन खोज्नु उचित र वैज्ञानिक हुँदैन। यसमा सबै सरोकारवाहरुको ध्यान जानु अपरिहार्य छ।

कक्षा कोठा बालमैत्री, सुरक्षित, आकर्षक र शान्त हुनुपर्छ। डर, दबाब र दण्डबाट होइन, प्रेम, प्रोत्साहन र सकारात्मक अनुशासनबाट सिकाइको वातावरण निर्माण गर्नुपर्छ। शिक्षक आदेश दिने व्यक्ति मात्र नभई सहजीकरण गर्ने र उचित मार्गदर्शन प्रदान गर्ने व्यक्ति बन्नुपर्छ।

बालबालिकाका लागि व्यवहारिक र प्रयोगात्मक शिक्षा अपरिहार्य छ। उनीहरूले किताब पढेर मात्र होइन, खेलेर, प्रयोग गरेर, प्रश्न गरेर र अनुभवबाट सिक्छन्। त्यसैले सिकाइलाई खेल र मनोरञ्जनसँग जोड्नु आवश्यक छ। ‘खेल्दै सिक्ने’ वातावरणले जिज्ञासा, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमता विकास गर्छ।

अतिरिक्त क्रियाकलापलाई पनि अब अतिरिक्त भनेर हेर्नु हुँदैन। आकर्षक हस्तलेखन कार्यशाला, चित्रकला, नाचगान तथा नृत्य, बाजा बजाउने प्रशिक्षण, लयबद्ध कविता तथा गीत, खेलकुद र पौडीजस्ता गतिविधिले बालबालिकाको बहुआयामिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्। यिनले प्रतिभा पहिचान मात्र गर्दैनन्, एकाग्रता, आत्मविश्वास, अनुशासन र अभिव्यक्ति क्षमता पनि बढाउँछन्।

त्यसैगरी आधुनिक शिक्षासँगै आचरण, अनुशासन, संस्कार, लोक संस्कृति, चाडपर्व, परम्परा र सम्पदाको ज्ञान पनि आवश्यक छ। प्रविधिमा दक्ष तर संस्कार र पहिचानबाट विमुख पुस्ता निर्माण गर्नु शिक्षाको उद्देश्य हुन सक्दैन। बालबालिकालाई आफ्नो संस्कृति रोचक र मनोरञ्जनयुक्त तरिकाले सिकाउनु आजको महत्वपूर्ण जिम्मेवारी हो।

प्रारम्भिक शिक्षामा मूल्याङ्कनको दृष्टिकोणसमेत बदलिनुपर्छ। केवल परीक्षा र अंक होइन, व्यवहार, सिर्जनशीलता, भाषा, सामाजिक सीप, शारीरिक विकास, जिज्ञासा, आत्मविश्वास र समस्या समाधान गर्ने क्षमतालाई पनि उपलब्धिको मापन मानिनुपर्छ।

यसका लागि सरकार, स्थानीय तह, सम्बन्धित निकाय, मन्टेश्वरी सञ्चालक, शिक्षक, अभिभावक र अन्य सरोकारवालाले ठोस पहल गर्नुपर्छ। योग्य र कुशल शिक्षक, बालमैत्री पूर्वाधार, उपयुक्त शिक्षण सामग्री, निरन्तर शिक्षक प्रशिक्षण र आधुनिक शिक्षण पद्धतिमा लगानी नगरी गुणस्तरीय प्रारम्भिक शिक्षा सम्भव छैन।

सबैभन्दा महत्वपूर्ण कुरा, बालबालिकाको जिज्ञासालाई निषेध होइन, निकास चाहिन्छ; गल्तीलाई दण्ड होइन, सिकाइको अवसर चाहिन्छ; खेललाई समयको बर्बादी होइन, शिक्षाको माध्यम मान्नुपर्छ।

आजको बालमैत्री कक्षा कोठा नै भोलिको सक्षम नागरिक निर्माण गर्ने कार्यशाला हो। आजको संस्कारयुक्त र व्यवहारिक शिक्षा नै  भोलिको सभ्य समाजको आधार हो। त्यसैले प्रारम्भिक बाल विकासमा अब केवल भाषण होइन बरु दृष्टिकोणमा परिवर्तन, शिक्षणमा नवीनता र कार्यान्वयनमा ठोस कदम आवश्यक छ।

बालबालिकाको वर्तमान सुधारौँ, राष्ट्रको भविष्य आफैँ सुधारिनेछ।

         

प्रतिक्रिया