२८ वर्षीय एआई अर्बपतिले भने - किशोरहरूले आफ्नो सबै समय एउटै सीप सिक्नुपर्छ, भविष्यमा अगाडि बढ्ने एउटै उपाय छ - भाइब-कोडिङ।

shikharmedia.com

२८ वर्षीय Alexandr Wang हाल Meta का चिफ एआई अफिसर हुन्। नयाँ अन्तर्वार्तामा उनले युवा पुस्तालाई भाइब-कोडिङ सिक्न सुझाव दिएका छन्, अर्थात् सादा अंग्रेजीमा निर्देशन दिएर एआईलाई कोड लेख्न लगाउने सीप।उनले आगामी पाँच वर्षभित्र एआईले आफूले अहिलेसम्म लेखेका सबै कोड लेख्न सक्ने भविष्यवाणी गरेका छन्।एमआईटीबाट पहिलो वर्षमै ड्रपआउट भएर अर्बपति बनेका Alexandr Wang भन्छन्, कोडिङको परिभाषा नै बदलिएको छ।

हालै TBPN पोडकास्टमा कुरा गर्दै उनले भने, ठूला टेक कम्पनीमा एआईले कोडिङको ठूलो हिस्सा लिइसकेको बेला युवाहरूले पुरानो तरिकाले मात्र कोड सिकेर पुग्दैन। Microsoft र Google मा अहिले कम्पनीका प्रोजेक्टको ३०% सम्म कोड एआईले नै लेखिरहेको छ।

यही परिवर्तनले जन्माएको हो - भाइब-कोडिङ। Replit र Cursor जस्ता टुल्सले एउटा प्रोम्प्टबाटै कोडको ब्लक तयार गरिदिन्छन्। प्राविधिक ज्ञान नभएका मानिसले पनि यसरी एप र वेबसाइट बनाइरहेका छन्। Google का सीईओ Sundar Pichai ले समेत गत जुनमा आफूले भाइब-कोडिङ गरेर वेबपेज बनाएको स्वीकारेका थिए।

Alexandr Wang को सुझाव निकै स्पष्ट छ।

“यदि तपाईं १३ वर्षको हुनुहुन्छ भने, तपाईंले आफ्नो सबै समय भाइब-कोडिङमै खर्चनुपर्छ। यसरी नै तपाईंले आफ्नो जीवन जिउनुपर्छ,” उनले पोडकास्टमा भने। उनका अनुसार किशोरहरूले एआई कोडिङ टुल्ससँग १०,००० घण्टा बिताए भने त्यो उनीहरूका लागि ठूलो एड्भान्टेज बन्नेछ।

Alexandr Wang ले सन् २०१६ मा एआई ट्रेनिङका लागि डाटा लेबलिङ गर्ने स्टार्टअप Scale AI स्थापना गरेका थिए। कम्पनीको ग्रोथले उनलाई फोर्ब्सका अनुसार २ अर्ब डलर नेटवर्थसहित विश्वकै कान्छो सेल्फ-मेड अर्बपति बनायो। गत जुनमा Meta ले Scale AI मा ४९% सेयरका लागि १४.३ अर्ब डलर लगानी गर्यो, जसले कम्पनीको भ्यालुएसन १४ अर्बबाट बढेर २९ अर्ब डलर पुग्यो। यही डिलसँगै Wang Meta मा आबद्ध भए।

“एआईले कोड लेख्न सक्ने कुराले मलाई पूरै radicalized बनाएको छ। यो कति ठूलो परिवर्तन हो भनेर कम आँकलन गर्नु असम्भव छ। इन्जिनियरको भूमिका पहिलेको जस्तो रहेन,” उनले भने।

उनको यो भनाइ Nvidia का सीईओ Jensen Huang को भनाइसँग मिल्दोजुल्दो छ। Huang ले जुनमा भनेका थिए, अब कसैले कोडिङ कहिल्यै नसिकेको भए पनि फरक पर्दैन, किनभने नयाँ प्रोग्रामिङ ल्याङ्ग्वेज नै नेचुरल ल्याङ्ग्वेज हो, जसबाट एआईलाई निर्देशन दिन सकिन्छ।

प्रतिक्रिया