काठमाडौँको एउटा रैथाने चोक। बाहिरबाट हेर्दा शान्त र सम्भ्रान्त देखिने एउटा भव्य बंगला। तर, त्यस बंगलाको भित्री कोठामा भने मध्यरातमा नेपालको इतिहासकै सबैभन्दा ठूलो र सुनियोजित नेटवर्कको खेल चलिरहेको थियो। कसैले सोचेका पनि थिएनन्— जहाँ मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिरेर केही विदेशी नागरिक बस्न आएका थिए, त्यो वास्तवमा एउटा आधुनिक र अवैध ‘सुन प्रशोधन कारखाना’ बनिसकेको थियो।
प्रहरीको विशेष टोलीले जब बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालको उक्त घरमा छापा मार्यो, त्यहाँको दृश्य देख्दा अनुभवी अनुसन्धान अधिकृतहरू समेत अचम्ममा परे। त्यहाँ न त कुनै विलासी सामान थिए, न त कुनै बस्ने वातावरण। कोठाभरि छरपस्ट थिए— ग्यास सिलिन्डर, ब्लो टर्च, केमिकलका भाँडाहरू, बाक्ला पञ्जा र बोरामा राखिएका सेता रासायनिक पाउडरहरू।
अनि टेबलको कुनामा चम्किरहेको थियो— २१ किलो ७५०.६८ ग्राम सुन। जसको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार रुपैयाँ भन्दा बढी छ।
तर, यो कहानी केवल सुन बरामद भएकोमा मात्र सीमित छैन। यसको जरा काठमाडौँका गल्लीहरूबाट फैलिएर सिधै चीनको व्यापारिक केन्द्र ग्वान्झाउसम्म जोडिएको छ।
डिजिटल कमाण्ड: ‘वीच्याट’ को गुप्त सञ्जाल
अनुसन्धान अधिकारीहरूका अनुसार, काठमाडौँमा बसेर सुन पगाल्ने र ओसारपसार गर्ने काम केवल ‘फ्रन्टलाइनर’ (एजेन्ट) हरूको मात्र थियो। यो पूरा अपरेसनको रिमोट कन्ट्रोल नेपालमा नभई चीनको ग्वान्झाउमा बस्ने झेन जिया ले (Zhen Jiale) नामका मुख्य नाइकेको हातमा थियो।
तस्करहरूले नेपालको सुरक्षा संयन्त्र र सञ्चार ट्र्याकिङबाट बच्न निकै आधुनिक विधिको प्रयोग गरेका थिए। झेन जिया ले ले नेपालमा रहेका चिनियाँ नागरिकहरू— हान फेइ (Han Fei), झोउ लोङकिङ (Zhou Longqing) र सु कियान (Su Qian) लाई सिधै WeChat एपमार्फत कमाण्ड गर्थे।
• कहाँबाट कच्चा सुन उठाउने?
• कुन केमिकल कति मिसाएर 'गोल्ड बिस्कुट' तयार पार्ने?
• तयार भएको सुन कुन रुट र कसलाई बुझाउने?
यी सबै निर्देशनहरू वीच्याटमा आउने 'कोड वर्ड' र मेसेजका आधारमा हुन्थे। काम सकिएलगत्तै ती च्याटहरू र डिजिटल प्रमाणहरू तुरुन्तै 'डिलिट' गरिन्थे, ताकि भोलि प्रहरीले समातिहाले पनि मुख्य नाइकेसम्म पुग्ने कुनै कडी बाँकी नरहोस्।
अवैध 'ल्याब' भित्रको रहस्य
बरामद भएका सामग्रीहरूले यो कुनै हचुवाको भरमा गरिएको तस्करी नभई एउटा पूर्ण व्यावसायिक सेटिङ थियो भन्ने प्रमाणित गर्छ। तस्करहरूले नेपालमा अवैध रूपमा भित्र्याइएको कच्चा वा अर्ध-प्रशोधित (Less refined) सुनलाई सिधै बजारमा पठाउँदैनथे।
उनीहरूले बूढानीलकण्ठको घरलाई एउटा मिनी-रिफाइनरी (प्रशोधन केन्द्र) मा बदलेका थिए। ब्लो टर्च र उच्च तापक्रम दिने ग्यास क्यानिस्टरहरूको मद्दतले कच्चा सुनलाई क्रुसिबल (विशेष भाँडो) मा राखेर पगालिन्थ्यो। त्यसपछि विभिन्न केमिकलहरू प्रयोग गरेर त्यसलाई १०० प्रतिशत शुद्ध (Fine Gold) बनाइन्थ्यो र बजारमा सजिलै बिक्ने 'गोल्ड बिस्कुट' को आकार दिइन्थ्यो।
अपरेशनका क्रममा ११ केजी सुन पूर्ण रूपमा तयार अवस्थामा फेला परेको थियो भने बाँकी १० केजी सुन प्रशोधनकै प्रक्रियामा थियो।
१३ लाख एड्भान्स र BYD कारको सुत्र
तस्करहरूले समाजको आँखा छल्न 'हाई-प्रोफाइल' जीवनशैली अपनाएका थिए। स्थानीय छिमेकीहरूका अनुसार, उनीहरू कसैसँग खासै बोल्दैनथे र प्रायः राती मात्र सक्रिय हुन्थे। घरबेटीलाई शंका नहोस् भनेर उनीहरूले ४ महिनाको अग्रिम भुक्तानी बापत एकैपटक १३ लाख २० हजार रुपैयाँ क्यास बुझाएका थिए।
यति मात्र होइन, काठमाडौँको सडकमा कसैले शंका नगरोस् र चेकजाँचमा परिहाले पनि 'सम्भ्रान्त परिवार' जस्तो देखियोस् भनेर उनीहरूले एक महँगो BYD इलेक्ट्रिक कार (बा ३ च ८४११) प्रयोग गर्ने गरेका थिए। यही कारको गोप्य फल्स बटम (लुकाउने ठाउँ) प्रयोग गरेर उपत्यकाभित्र सुन ओसारपसार गर्ने गरिएको अनुसन्धानमा देखिएको छ।
अनुसन्धानको नयाँ मोड: अबको गन्तव्य कहाँ?
उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले यो अपरेसन सफलतापूर्वक चलाएर तीन जना चिनियाँ एजेन्टहरूलाई त समात्यो, तर मुख्य प्रश्न अझै बाँकी नै छ— यो सुन कहाँ जाँदै थियो र यसको नेपाली कनेक्सन को हो?
नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ सुन लैजाने अन्तर्राष्ट्रिय गिरोहको यो एउटा सानो हिस्सा मात्र हुनसक्ने अनुमान अनुसन्धान अधिकारीहरूको छ। पक्राउ परेका चिनियाँ नागरिक र बरामद कारसहित सबै प्रमाणहरूलाई अहिले थप विस्तृत अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको छ।
अ डिजिटल फिंगरप्रिन्ट, वीच्याट अकाउन्ट र जफत गरिएका फोनहरूको फरेन्सिक ल्याब परीक्षणले यो 'सन-फ्याक्ट्री' को पर्दाफास मात्र गरेको छैन, बरु नेपालमा लुकेर बसेका अन्य ठूला माछाहरूको निन्द्रा समेत उडाइदिएको छ।