काठमाडौं, ५ अक्टोबर २०२६। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाबाट छनोट भएका केही प्रतिनिधिको क्रियाशील सदस्यता र नेपाली नागरिकताको योग्यतामाथि प्रश्न उठेको छ।
नेपाली कांग्रेसका क्रियाशील सदस्य बसन्त सापकोटाले पार्टीका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलाई पत्र पठाउँदै अष्ट्रेलियन नागरिकता लिइसकेका केही नेपाली मूलका व्यक्तिलाई कांग्रेसको क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधि बनाइएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
जनसम्पर्क समिति अष्ट्रेलियाको व्यवस्थाअनुसार अष्ट्रेलियन नागरिकता लिएका नेपाली मूलका व्यक्तिलाई जनसम्पर्क सदस्य तथा नेपाली नागरिकलाई क्रियाशील सदस्यका रूपमा छुट्याइएको उल्लेख गर्दै सापकोटाले विदेशी नागरिकता लिइसकेका व्यक्तिलाई क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि बनाइएको भए त्यो पार्टी विधानको मर्म र व्यवस्थाविपरीत हुने दाबी गरेका छन्।
उनले अष्ट्रेलियाबाट छनोट भएका प्रतिनिधिहरूको नागरिकता र क्रियाशील सदस्यताको आधिकारिक प्रमाणीकरण गर्न तथा विधानविपरीत छनोट भएको पुष्टि भए आवश्यक सुधारात्मक निर्णय लिन पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।
विदेशी नागरिकता लिएका व्यक्तिलाई पार्टीको संवेदनशील जिम्मेवारी दिँदा कांग्रेसभित्र विकृति र विसङ्गति संस्थागत हुन सक्ने, आन्तरिक लोकतन्त्र तथा संगठनात्मक एकतामा असर पर्न सक्ने र इमान्दार कार्यकर्तामा पार्टीप्रति निराशा बढ्न सक्ने उनको चिन्ता छ। यस्ता गतिविधि तत्काल रोक्न र पार्टीप्रतिको विश्वासलाई कायम राख्न उनले सुझाएका छन्। सापकोटाले यो विषय कुनै व्यक्ति वा समूहविरुद्ध नभई विधानको पालना, समान नियम, पारदर्शिता र आन्तरिक लोकतन्त्रको संरक्षणका लागि उठाइएको स्पष्ट पारेका छन्।