चितवन, असोज २५। मन्टेश्वरी तथा प्रि-स्कुलहरूको छाता संगठन एसोसिएसन अफ मन्टेश्वरी एन्ड प्रि-स्कुल्स (AMPS), चितवनको आयोजनामा नेपालीहरूको महान् चाड विजया दशमीको पहिलो दिन घटस्थापनाको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
भरतपुर हाकिमचोक स्थित होटल सी.एम.टी.मा आयोजित उक्त कार्यक्रम भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको हो। कार्यक्रममा चितवन जिल्लाका विभिन्न मन्टेश्वरी तथा प्रि-स्कुलका सञ्चालक एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा चितवन जिल्लाका विभिन्न मन्टेश्वरी तथा प्रि-स्कुलका सञ्चालक एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमकी संयोजक किड्स वर्ल्ड मन्टेश्वरी भरतपुर-१२ की प्रवन्ध निर्देशक निरु सिग्देल खतिवडाले विजया दशमी २०८३ को शुभकामना व्यक्त गर्दै AMPS, चितवनमा आबद्ध सम्पूर्ण मन्टेश्वरी सञ्चालक तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। यसैगरी AMPS , चितवनकी वर्तमान उपाध्यक्ष प्रमिला रानाभाटले कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्दै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले नेपालीहरूको मौलिक संस्कृति, परम्परा र चाडपर्वले आपसी सद्भाव, एकता र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा AMPS, चितवनका वर्तमान अध्यक्ष निराजन रेग्मीसहित संस्थाका पूर्वअध्यक्षहरू कमला मल्ल, देवी आचार्य र सविता पौडेल लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा जिल्लाका करिब ३० विद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए।
प्रारम्भिक बालशिक्षाको विकास, गुणस्तरीय शिक्षण अभ्यासको प्रवर्द्धन तथा शैक्षिक संस्थाहरूबीच सहकार्य विस्तार गर्न यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। चाडपर्वका अवसरमा आयोजना गरिने सामूहिक भेटघाट तथा शुभकामना आदानप्रदानले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूबीच सम्बन्ध सुमधुर बनाउनुका साथै अनुभव र विचार आदानप्रदान गर्ने वातावरण सिर्जना गर्दछ।
विजया दशमीको उल्लासमय वातावरणमा सम्पन्न कार्यक्रमले सहभागीहरूबीच आत्मीयता, सद्भाव र संस्थागत एकताको सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।
हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न उक्त शुभकामना आदानप्रदान कार्यक्रम साँझ ५ बजे समापन भएको थियो।