जनसम्पर्क समिति अष्ट्रेलियाको सांगठनिक पद्धतिबारे कांग्रेस सभापति थापाको ध्यानाकर्षण
एडिलेड (अष्ट्रेलिया)। नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सांगठनिक कार्यशैली, निर्णय प्रक्रिया, राज्यगत प्रतिनिधित्व तथा कार्यकर्ताको सहभागितासम्बन्धी विषयमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको ध्यानाकर्षण गराइएको छ।
नेपाली कांग्रेसका क्रियाशील सदस्य बसन्त सापकोटाले सभापति थापालाई विस्तृत ध्यानाकर्षण पत्र बुझाउँदै प्रवासमा पार्टी संगठनलाई थप व्यवस्थित, पारदर्शी र विधानसम्मत ढंगले सञ्चालन गर्न आवश्यक पहल गर्न आग्रह गरेका हुन्। पत्रमा संगठनको वर्तमान कार्यशैलीसँग सम्बन्धित केही विषयको पुनरावलोकन तथा संस्थागत समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
एडिलेडमा बसोबास गर्दै आएका सापकोटाले भारतको बैंगलोर र संयुक्त अधिराज्यमा समेत नेपाली जनसम्पर्क समितिको सांगठनिक विस्तारमा आफूले योगदान गरेको उल्लेख गरेका छन्। उनले दक्षिण अष्ट्रेलियालगायत विभिन्न राज्यमा लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका अनुभवी तथा पुराना कार्यकर्ताको योगदान र सहभागितालाई सांगठनिक जिम्मेवारी तथा प्रतिनिधित्वका क्रममा उचित रूपमा सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्।
ध्यानाकर्षण पत्रमा संगठनका जिम्मेवारी निर्धारणका लागि स्पष्ट र पारदर्शी मापदण्ड बनाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ। कार्यकर्ताको योग्यता, अनुभव, योगदान र सक्रियतालाई आधार बनाएर जिम्मेवारी वितरण गर्ने प्रणाली विकास गर्न सके संगठनभित्रको सहभागिता र विश्वास थप मजबुत हुने धारणा पत्रमा व्यक्त गरिएको छ। व्यक्तिगत सम्बन्ध वा समूहगत निकटताभन्दा संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्ने सुझावसमेत दिइएको छ।
त्यस्तै, अष्ट्रेलियाको भौगोलिक विस्तार र विभिन्न राज्यमा रहेका कांग्रेसका क्रियाशील सदस्यको अवस्थालाई ध्यानमा राख्दै राज्यगत प्रतिनिधित्वमा सन्तुलन कायम गर्नुपर्ने माग गरिएको छ। कम प्रतिनिधित्व भएका राज्यहरूबाट समेत अनुभवी र सक्रिय सदस्यहरूको न्यायोचित सहभागिता सुनिश्चित गर्नुपर्ने विषय पत्रमा उल्लेख छ।
संगठनको संरचना र प्रतिनिधित्व पार्टी विधानअनुकूल बनाउन तथा निर्णय प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित गर्न केन्द्रीय तहबाट आवश्यक पहल हुनुपर्ने सापकोटाको आग्रह छ। संगठन सञ्चालनसँग सम्बन्धित गुनासा तथा सुझावहरूलाई संस्थागत रूपमा सम्बोधन गर्न केन्द्रीय कार्यालयको पहलमा स्वतन्त्र संगठनात्मक समीक्षा समिति गठन गर्नुपर्ने प्रस्तावसमेत उनले अघि सारेका छन्।
सापकोटाले प्रवासमा पार्टी संगठनको प्रभावकारिता र विश्वसनीयता कायम गर्न व्यक्ति वा समूह केन्द्रित प्रक्रियाभन्दा स्पष्ट मापदण्ड, संस्थागत निर्णय र निष्पक्ष प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनका अनुसार संगठनमा जिम्मेवारी र प्रतिनिधित्वको विषयलाई व्यक्तिगत लाभ वा पदको विषयभन्दा पनि विधि, प्रक्रिया र संस्थागत पद्धतिको विषयका रूपमा हेर्न आवश्यक छ।
ध्यानाकर्षण पत्रको मूल भाव ‘माग पदको होइन, पद्धतिको हो; व्यक्ति होइन, प्रक्रियाको हो; पहुँच होइन, निष्पक्ष प्रणालीको हो’ भन्ने अवधारणामा केन्द्रित रहेको बताइएको छ।